सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार पुनः म्याद थपका लागि अदालत उपस्थित गराइएको छ ।
शुक्रवार म्याद सकिए पनि शनिवार सार्वजनिक बिदा भएकाले रविलाई आज (आइतबार) पाँचौंपटक म्याद थपका लागि अदालत उपस्थित गराइएको हो ।
लामिछानेमाथि अनुसन्धान गर्न यसअघि कात्तिक २५ गते १३ दिन म्याद थप भएको हो ।
कात्तिक २ गते पक्राउ परेका लागिछानेमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई पहिलो पटक ६ दिन, दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिनको समय दिएको थियो ।
त्यसबीचमा रूपन्देहीमा पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई रूपन्देही लगेर बयानसमेत लिइएको थियो ।
उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले लामिछानेसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी भएकोमा पूर्वडिआइजी छबिलाल जोशी र कुमार रम्तेललाई काठमाडौं ल्याएर बयान लिइसकेको छ ।
छबिलाल जोशीलाई शुक्रबार मात्रै कास्की फिर्ता गरिएको थियो । लामिछानेलाई पनि काठमाडौं ल्याउने तयारी छ ।