साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा पेसी तोकिएको छ ।
आइतबार न्यायाधीश शर्माको एकल इजलासमा प्रसाईंको पेशी परेको हो । साइवर अपराधसहित सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धानका लागि पक्राउ परेपछि शुक्रवार प्रसाईँका तर्फबाट बन्दीप्रत्यक्षीकरको निवेदन दर्ता भएको थियो ।
उनका छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेका थिए ।
सिआइबीले दुर्गा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट गत मंसिर ४ गते पक्राउ गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत कम्बोडियाको टेलिकममा साढे ३२ अर्ब लगानी गरेको भन्दै ‘विवादास्पद अभिव्यक्ति’ दिएर पछि साइबर अपराध आरोपमा उनलाई पक्राउ गरिएको थियो ।
उनले आफ्नो सामाजिक सञ्जालमा भिडिओमार्फत अपुष्ट 'स्क्रिनसट' समेत देखाएका थिए ।