राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले दिएको राजीनामा स्वीकृत गरेका छन् ।
अधिकारीले प्रतिनिधि सभाको सचिव पदबाट आइतबार राष्ट्रपतिसमक्ष राजीनामा पेस गरेका थिए । राष्ट्रपति पौडेलले अधिकारीको राजीनामा सोमबार (मंसिर १० गते)देखि लागु हुने गरी स्वीकृत गरेका छन् ।
संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम भोलिदेखि लागु हुनेगरी उनको स्वीकृत भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नेपाल सरकारका पूर्व सचिव रहेका अधिकारी ५ महिनाअघि मात्र प्रतिनिधि सभामा सचिव नियुक्त भएका थिए । गत असार १७ गते अधिकारीलाई सभामुख देवराज घिमिरेको सिफारिसमा प्रतिनिधि सभा सचिवमा नियुक्त गरिएको थियो ।