घरेलु हिंसा पीडित भनेर बताउँदै आएकी बिनु यादव पक्राउ परेकी छन् ।
मंगलबार सर्वोच्च अदालतअघि बोर्डमा कालो रङ छ्यापेर विरोध प्रदर्शन गरेपछि उनलाई पक्राउ गरिएको हो । उनलाई हाल प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । पठाओमा आएर सर्वोच्चको बोर्डमा उनले कालो छ्यापेको प्रहरीले जनाएको छ ।
यादवले लामो समयदेखि आफ्नो माग सम्बोधनका लागि प्रदर्शन र अनसन बस्दै आएको छन् । यसअघि उनले अनसन बसेपछि सरकार पक्ष र उनको चारबुँदे सहमति पनि भएको थियो ।
त्यतिबेला यादवमाथि पवन कठायतले जबर्जस्ती करणी उद्योग गरेको मुद्दाको निवेदनउपर कारबाहीका लागि गृह मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालय पठाउने सहमति भएको थियो ।
कालीमाटी प्रहरीलाई विसं २०७५ मा आफूमाथि जबर्जस्ती करणीको उजुरी फिर्ता गर्न लगाउने तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीमाथि कारबाही र अन्य विभिन्न पाँचबुँदे मागसहित यादव माइतीघर मण्डलामा सत्याग्रह बसेकी थिइन् ।