NRN
दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च अदालतमा

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने आरोप लगाएपछि पक्राउ परेका प्रसाईंलाई मंगलबार दिउँसो सर्वोच्च अदालतमा उपस्थित गराइएको हो । उनलाई साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान गरिरहेको हो ।

सर्वोच्चमा उनका छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

रिटमा सुनुवाई गर्दै विपक्षीलाई बन्दीसहित उपस्थित हुन भन्दै आइतबार (म‌ंसिर ९ गते) न्यायाधीश मनोजकुमार शर्माको इजलासले आदेश दिएको थियो । उक्त आदेशपछि साइबर ब्युरोले प्रसाईंलाई अदालतमा उपस्थित गराएको हो । 

आइतबार नै जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो । म्याद दिँदा प्रसाईं क्यान्सरको बिरामी रहेको भन्दै उपचारको प्रबन्ध मिलाउन पनि इजलासले आदेश दिएको थियो ।

सिआइबीले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट गत मंसिर ४ गते पक्राउ गरेको थियो । उनले प्रधानमन्त्री ओलीमाथि कम्बोडियाको टेलिकममा साढे ३२ अर्ब लगानी गरेको भन्दै भाषण गरेका थिए । उनले आफ्नो सामाजिक सञ्जालमा भिडिओमार्फत अपुष्ट 'स्क्रिनसट' समेत देखाएका थिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update