मंगलबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबार १५.८३ अंक र मंगलबार ३३.४१ अंक गरी दुई दिनमा नेप्से ४९.२४ अंकले बढेको छ ।
यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । गत कारोबार दिन अर्थात् सोमबार ६ अर्ब ३४ करोडको सेयर कारोबार भएकोमा मंगलबार ७ अर्ब ४४ करोडको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब १० करोड रूपैयाँ वृद्धि भएको हो ।
आज ३१२ वटा धितोपत्रको एक करोड ४२ लाख ९२ हजार ७४२ कित्ता सेयर किनबेच भएको हो ।
मंगलबार २११ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ वटाको घटेको छ । यस्तै, एक कम्पनीको मूल्य स्थिर रहेको छ ।
यस दिन सपोर्ट माइक्रोफाइनान्स, युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावर र कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः दुई हजार ७५० रूपैयाँ, ५८७ रूपैयाँ ४० पैसा र दुई हजार ७९२ रूपैयाँ ९० पैसा कायम भएको छ ।
यस्तै, थ्री स्टार हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ३२ रूपैयाँ ३० पैसा कायम भएको छ।
दोस्रोमा कर्णाली डेभलपमेन्ट बैंकको मूल्य ८.४५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७६९ रूपैयाँमा झरेको छ ।
मंगलबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ५५० रूपैयाँमा ४५ करोड ७८ लाख रूपैयाँको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । यस दिन जलविद्युत समूहको परिसूचक सर्वाधिक १.९७ प्रतिशतले बढेको छ ।