भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले शासक दलहरुले सिद्धान्त र दर्शनलाई भन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राख्दा देश दुर्घटनातिर जाने सम्भावना रहेको उल्लेख गर्दै नयाँ पुस्ताका विद्यार्थीहरुलाई विश्वको इतिहास र भूगोलबारे राम्रोसँग सिकाउन जरुरी रहेको बताएका छन् ।
वागीश्वरी माध्यमिक विद्यालयको ६४ औं, वागीश्वरी कलेजको १५ औं र वागीश्वरी कलेज अफ मेनेज्मेन्टको स्थापना वर्षको वार्षिकोत्सव समारोहमा उनले सो धारणा राखेका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले शासक दलहरुबाट गरिब जनतालाई शिक्षाको पहुँचबाट टाढा राख्ने अनेक षड्यन्त्र भइरहेकोतर्फ सचेत हुनुपर्नेमा जोड दिँदै सरकारको नीतिगत खोटको विरोध र आलोचनालाई देशभक्त जनताले निरन्तरता दिनुपर्ने बताए ।
विदेशीको इसारामा चल्ने र विदेशीको हितमा काम गर्नेले कहिल्यै पनि देशको हितको निम्ति नसोच्ने बताउँदै उहाँले व्यक्तिगत स्वार्थबाट टाढा रही सिंगो समाजलाई अगाडि बढाउने नीति नै समाजवादी नीति भएको बताए ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बागीश्वरीअन्तर्गत ३ वटा कलेजहरु संयुक्त रुपमा अगाडि बढाइरहेको बताउँदै देशकै नमुना शैक्षिक संस्थाको रुपमा विकास गर्ने उद्देश्यअनुरुप यी शैक्षिक संस्थाहरु सञ्चालनमा रहेको जानकारी दिए ।
उनले सामुदायिक विद्यालयले पनि उत्कृष्ट शिक्षा प्रदान गर्छ भन्ने उदाहरणको रुपमा बागीश्वरी रहेको बताउँदै बागीश्वरीले हरेक चुनौतीलाई अवसरको रुपमा परिणत गरी आजको सफलता हासिल गरेको बताए । बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले अहिलेको राजनीतिक नेतृत्वमा नैतिकताको चरम अभाव रहेको प्रष्ट पारे ।
भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरी सराहनीय काम गर्दै आइरहेको र पाठ्यक्रमको व्यवहारिक र वैज्ञानिक ढंगले अगाडि बढाउन जरुरी रहेको उनले बताए ।
बागमती प्रदेशसभा सदस्य सृजना सैंजुले देशैभरि सामुदायिक कलेज लथालिङ्ग बनिरहेको समयमा बागीश्वरीले शिक्षामा नमुना काम गरी नविन आयाम थपिरहेको बताउँदै ख्वप विश्वविद्यालय स्थापनाको निम्ति संघर्ष जारी रहने बताए ।
उनले शिक्षामा नवउदारवादको विरोध गर्न आवश्यक भएको बताउँदै बागीश्वरीले बीबीएको कक्षा सञ्चालनसँगै आगामी दिनमा एमबीएलाई पनि अगाडि बढाउने विश्वास व्यक्त गरे ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बागीश्वरी मावि र कलेज समुदायमा आधारित समावेशी विद्यालयहरुको रुपमा सञ्चालनमा रहेको बताउँदै स्थानीय सरकारको सफल नेतृत्वले भक्तपुरलाई शिक्षामा नमुनाको रुपमा अगाडि बढाउन टेवा पुगेको बताए ।
प्रमुख जिल्ला अधिकारी भक्तपुरका खगेन्द्र प्रसाद रिजालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित विद्यालय र कलेजको स्तर उत्कृष्ट रहेको बताउँदै भक्तपुरका सहयोगी समुदायको संयुक्त प्रयासले भक्तपुर शैक्षिक ज्ञानको केन्द्रको रुपमा विकास हुन सफल भएको बताए ।
वार्षिकोत्सव कार्यक्रममा बागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने बागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले कलेजको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेँले प्रावि शिक्षक राजेन्द्र भण्डारी, प्रावि शिक्षक प्रमिला प्रधान, प्रावि शिक्षक ज्ञानी छोरी श्रेष्ठ र विद्यालय सहयोगी हरिप्रसाद दाहाललाई दीर्घसेवी शिक्षक सम्मान प्रदान गरे ।