NRN
फुटबल सम्राट पेलेको निधन

एजेन्सी ।  तीन पटकको विश्वकप विजेता ब्राजिलका फुटबल खेलाडी पेलेको बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको छ ।
 
साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालले एक विज्ञप्ति जारी गर्दै क्यान्सरसँग लामो संघर्षपछि उहाँको मृत्यु ‘मल्टिपल अर्गन फेलियर’ का कारण भएको जनाएको छ ।

हामी तिमीलाई असीम प्रेम गरिरहनेछौँ, पेलेकी छोरी केली नासिमेन्टोले इन्स्टाग्राममा लेख्नुभएको छ । उनको पूर्व टोलीका साथीहरूदेखि वर्तमान् फुटबल स्टारहरूसम्मले उनको निधनप्रति दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धासुमन व्यक्त गरेका छन् ।

पेलेले लामो व्यावसायिक जीवनकोे दौडान फुटबल खेललाई नै रूपान्तरण गरेका थिए । ब्राजिलका स्टार नेयमारले पेलेप्रति सम्मान व्यक्त गर्दै ‘फुटबललाई कलामा परिणत गरेको’ बताएका छन्  । फ्रान्सका केलियन एमबाप्पेले उनको विरासतलाई ’कहिल्यै नबिर्सने’ बताए । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले उनलाई ’लाखौंका लागि प्रेरणा’ भएकाे बताए । 

अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनल मेस्सीले सामाजिक सञ्जालमा उनको आत्मको शान्तिका लागि प्रार्थना गरेका छन्। 

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले महान् फुटबलरको निधनपछि तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् भने नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले ट्वीट गर्दै पेलेले राष्ट्रधका लागि सन् १९५८, १९६२ र १९७० मा तीन पटक विश्वकप जिताएको स्मरण गर्दै उनीप्रति श्रद्धा व्यक्त गरेका छन् । 

मृगौलाको समस्या र कोलोन क्यान्सरसँग जुधिरहेका उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सन् २०२१ को सेप्टेम्बरमा उनको शल्यक्रिया गरिएको थियो भने त्यसपछि केमोथेरापी गरिँदै आएको थियो ।

पेलेको पूर्व क्लबकाअनुसार सोमबार क्रिश्चियन परम्परा अनुसार ‘वेक हुनेछ र त्यसपछि मङ्गलबार दक्षिणपूर्वी शहर सान्तोसमा अन्त्येष्टि हुनेछ । पेलेले आफ्नो क्यारियरको अधिकांश समय सान्तोसमा खेलेर बिताएका थिए ।

महान् फुटबलर पेलेका समर्थकहरूले फूलहरू चढाउन सान्तोसस्थित रङ्गशालामा भेला भएका छन् भने शहरमा सात दिनको शोकको घोषणा गरिएको छ । 

उनी तीन पटक विश्वकप फुटबल उपाधि जित्न सफल एक मात्र खेलाडी थिए। गत नोभेम्बर महिनामा अस्पतालबाट बोल्दै उनले आफ्ना प्रशंसक र दीर्घायुका लागि ईश्वरलाई धन्यवाद दिएका थिए । 

उनको जन्म सन् १९४० मा दक्षिणपूर्वी ब्रजिलमा एउटा गरिब परिवारमा भएको थियो । तर उनले आफ्नो प्रतिभा र अद्भूत क्षमताका कारण फुटबल जगत्मा अमर रहनुहुनेछ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  २२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update