NRN
‘राष्ट्रपतिको निर्वाचनपछि सहमतिको सरकार’

जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले राष्ट्रपतिको निर्वाचन पश्चात् देशमा वृहत् सहमतिको सरकार बन्ने दाबी गरेका छन् । सिरहाको लहानमा हुने एक कार्यक्रममा सहभागी हुन जाने क्रममा बिहीबार बिहान कांग्रेस धनुषाको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले भने, ‘राष्ट्रपतिको निर्वाचन लगत्तै उपराष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल सुरु हुन्छ । हामीले जसपालाई उत्तम उम्मेदवार ल्याउन आग्रह गरेका छौँ ।’

जनताको अभिमतबाट बनाइएको संविधान बचाउन र अक्षरशः कार्यान्वयन गर्न निर्वाचनमा पनि गठबन्धन गरेर गएको स्मरण गराउँदै लोकतन्त्र, राजनीतिक स्थिरता र विकासका लागि निरन्तर लागि रहने उनले बताए ।

नेता सिंहले संविधानले दिएका अधिकार कार्यान्वयनमा ल्याउन विधिको शासन कायम हुनुपर्नेमा जोड दिएका छन् ।
पत्रकार सम्मेलनमा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य आनन्द प्रसाद ढुङ्गाना, कांग्रेस मधेस प्रदेशका प्रमुख सचेतक कुमर कान्त झा, प्रदेश सांसद शेष नारायण यादव, सभापति योगेन्द्र पजियारसहितकाहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update