NRN
किन उठ्छन चलचित्र पत्रकारिता माथि प्रश्न…? 
  • राजन घिमिरे 

पछिल्लो समय नेपालमा फस्टाएको पत्रकारिता विधा हो चलचित्र पत्रकारिता बिधा । केही समय यता आएर यो बिधाप्रति युवा पुस्ताको आकर्षण बढ्नुले नेपाली चलचित्र क्षेत्रले एकातिर सकारात्मक रूपमा लिएको छ भने अर्को तर्फ थोरै ज्ञान नहुने र जिम्मेवारीको बहन गर्न नसक्नेहरूको प्रवेशले अर्को तर्फ यो विधाप्रति नकारात्मक प्रभाव पनि पर्न थालेको छ ।

  चलचित्रको गतिविधि वा कृयाकलापहरुले पनि चलचित्र पत्रकारिताको रूप लिन सक्छ ? भन्ने प्रश्नहरू उठ्ने गरेको समयमा चलचित्र पत्रकारितालाई बिधागत शैलीको पत्रकारिता मार्फत पनि चलायमान गर्न सकिन्छ भनेर जोखिम उठाउदै यो बिधालाई तीन दशक अगाडिदेखी  हाँक्दै चलचित्र पत्रकारितालाई आजको अवस्थामा ल्याईपुर्याउनु हुने अग्रज चलचित्र पत्रकारहरूको योगदानलाई कम आँकलन गर्न मिल्दैन । चलचित्र पत्रकारिता पनि पत्रकारिता हो र ? भन्ने भ्रमलाई चिर्दै यो बिधाप्रति गरिएको गलत बुझाईलाई मेट्दै आज चलचित्र पत्रकारिताले जून फराकिलो स्थान ओगटेको छ  ,त्यहाँसम्म ल्याउन बरिष्ठ चलचित्र पत्रकारहरूको योगदान हेर्दा चलचित्र पत्रकारिता बिधाले आज उच्च मान- सम्मान र वाहवाही पाउंनु पर्ने हो । तर,पछिल्लो समय रहरे र मजाक मानेर चलचित्र पत्रकारितामा प्रवेश गर्नेहरूको उपस्थितिले बरिष्ठ चलचित्र पत्रकार र यो बिधालाई सशक्त  बनाउन आफ्नो करिएर नै दाउमा राखेर बोटो खनिदिनेहरूको अपमान हुन थालेको छ ।

 आज चलचित्र पत्रकारितालाई हल्काफूल्का रूपमा हेरेर केबल मनोरन्जनको रूपमा मात्र हेर्ने जमातहरूको बाढीको प्रवेशले यो बिधालाई स-सम्मान र बिश्वासका साथ बचाएर यहाँसम्म  ल्याउनु  हुनेहरूको न त योगदान कदर नै भएको छ न त, चलचित्र पत्रकारिता बिधामा सिरियस भएर नै लाग्ने उद्देश्य देखियो यिनीहरूमा । यो सब चलचित्र पत्रकारिता बिधामा प्रबेश गर्ने उरन्ठेउलाहरूले  निम्ताएको प्रतिफल हो  भन्दा फरक नपर्ला ।

हिरो हिरोइनको ब्याग भित्र के छ ? नग्न भएर नुहाउदा कस्तो हुन्छ ? साथीलाई अश्लिल भिडियो पठाउनु भएको छ ? यस्तै यस्तै वाईयात र भद्दा प्रश्नहरू सोध्ने र मजाक गर्नेहरूले समग्र चलचित्र पत्रकारितकै हुर्मत लिइरहेका छन् ।

  यूटुबको बजार र पहुँच गरम भएसंगै अब त चलचित्र पत्रकारिता सजिलो,हल्काफूल्का र मनोरन्जनको रूपमा मात्र चित्रित हुन थालेको छ ।बर्षेनी अरबौ लगानी हुने नेपाली चलचित्र उद्याेको मार्ग दर्शक बन्नु पर्ने चलचित्र पत्रकारिता यतिबेला रहरेहरूको बसिबिँयांलो र भेटघाटको थलो बन्न पुगेको छ । कलाकारहरूसंग अन्तरबार्ता गरेका हुन कि जिस्किन पुगेका हुन, भन्नै गार्हो छ । यूटुबेहरूको भिडियोमा हेर्नुस त , आफूलाई चलचित्र पत्रकार भनेर नाक फूलाउनेहरूको उपस्थिति अनि प्रश्न सोधाई ? ज़बर्दस्ती हाँसेका छन अनि हँसाएका छन । यिनीहरूको प्रश्नमा न त वजन छ, न त आजसम्म यिनीहरूको प्रश्न र उपस्थितिले चलचित्र पत्रकारिता बिधामा महत्वपूर्ण भूमिका नै खेल्यो
? नेपाली भाषा , शब्द चयन र लेखाईको चिरहरण गरेका छन यिनीहरूले । लेखनमा कमजोरी भएकै कारण आजका यो पुस्ता यूटुबलाई भरपूर प्रयोग गरेर चलचित्र पत्रकारिता गरिरहेको छ । किनकी यसमा न त लेख्नु पर्यो ? न त ह्रस्व दीर्घकै ज्ञान हुनु पर्यो । चलचित्र पत्रकारितालाई यिनीहरूले यति सहज र सरल बनाई दिए की जो कोही पनि यो बिधामा सहज रूपले प्रवेश गर्न सक्ने भएको छ । चलचित्र पत्रकारिताको यो अवस्थालाई कसले अनुगमन गर्ने ? सोधखोज र मूल्यांकन कसले गर्ने ? चलचित्र पत्रकारको मापदण्ड र यसले अबिलम्बन गर्नु पर्ने पाटाहरूको बारेमा कसले ध्यान दिने ? 

 चलचित्र पत्रकारितालाई सजिलो,रमाईलो र हल्काफूल्काको रूपमा मात्र हेरेर नछोड्नु ? यस मार्फत पनि नेपाली चलचित्र उधोगलाई सजग गराउंन सकिन्छ भन्ने गहन कुरा चलचित्र पत्रकारितालाई रमाइलो ठान्नेहरूले बुझ्ने कहिले ? अनि यिनीहरूलाई बुझाउने कसले ? 

हिरो हिरोइनको ब्याग भित्र के छ ? नग्न भएर नुहाउदा कस्तो हुन्छ ? साथीलाई अश्लिल भिडियो पठाउनु भएको छ ? यस्तै यस्तै वाईयात र भद्दा प्रश्नहरू सोध्ने र मजाक गर्नेहरूले समग्र चलचित्र पत्रकारितकै हुर्मत लिइरहेका छन् । चलचित्र पत्रकारिताकै खिल्ली उडाइरहेका छन । लेखेर चलचित्र कलाकार र बिधालाई सचेत गराउनेहरूको जमात घटिरहेक़ो अबस्थामा प्रबिधिका कारण हाई हाई पाएका केहीहरूको भिडले आज चलचित्र पत्रकारितालाई यति सस्तो र दूर्घन्धित बनाए कि चलचित्र पत्रकारितामा लागेर कपाल फूलाएकाहरू पनि लज्जित हुने अबस्थामा पुगेका छन । कलाकारहरूसंग भेट्न पाईने अनि संगै खान र हिड्न पाईंने र सामाजिक सन्जालमा समानान्तर उपस्थिति पनि हुने…। यही र यस्तै लोभ अनि आकर्षणले गर्दा अहिलेको यूबा पुस्ता चलचित्र पत्रकारिता तर्फ मरिहत्ते भएको बुझ्न सकिन्छ । यो बिधा तर्फ यो पुस्ता सिरियस भएको देखिंदैन ।

 चलचित्र पत्रकारितालाई मजाकको रूपमा हेर्ने केहीहरूले यो बिधालाई बनाएको हल्काफूल्का सोच र शैलीका बारेमा पत्रकारहरूको छाता संगठनले छानबिन गर्दै शुद्धीकरण गर्ने कि ? चलचित्र पत्रकारिताको नाममा केहीको  हल्काफूल्का उपस्थिति, सस्तो सोच र रहरेहरूको भिडता कारण नेपालको समग्र चलचित्र क्षेत्रको मेरूदण्ड बन्नु पर्ने चलचित्र पत्रकारिता आज धमिंलिंदै मात्र छैन कि यसले बिश्वास गुमाउंदै छ भने अर्कोतर्फ आफ्नो पहिचान र गरिमामा पनि ह्रास ल्याउंदै छ । यस तर्फ सम्बन्धित पक्षले केही सोच्ने कि ?

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update