NRN
राष्ट्रपतिमा दोब्बर बढी मतले पौडेल निर्वाचित

काठमाडाैं ।  मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा पूर्वसभामुख रामचन्द्र पौडेल निर्वाचित भएका छन् । आफ्ना प्रत्यासी पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतले पराजित गर्दै उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

  आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा निर्वाचनमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । मतदानमा सङ्घको एक र प्रदेशको चार मत बदर भएको थियो । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुन्छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् ।

    निर्वाचन समितिका अनुसार पौडेलले सङ्घतर्फ दुई सय १४ र प्रदेशतर्फ तीन सय ५२ मत प्राप्त गरेका थिए । उनले कूल ३३ हजार आठ सय दुई मतभार प्राप्त गरे । यसैगरी उनका प्रत्यासी नेम्वाङले सङ्घतर्फ ९८ र प्रदेशतर्फ एक सय ६२ मत प्राप्त गरेकाे निर्वाचन समितिले जनाएको छ । नेम्वाङले कुल १५ हजार पाँच सय १८ मतभार प्राप्त गरे ।

 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update