NRN
सत्ता संघर्षको होडबाजीले विकास र सुशासनमा असर

काठमाडौं । राजनीतिक नेतृत्व सत्ता संघर्षमा लाग्दा सरकारहरु टिकाउ हुन नसकेको सरोकारवालाहरुले बताएका छन् । 

पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित सत्ता संघर्ष पुस्तक हस्तान्तरण कार्यक्रममा वक्ताहरुले राजनीतिक स्थायित्व नहुँदा विकास र सुशासनमा असर परेको बताए ।

पत्रकार भण्डारीको पुस्तक सत्ता संघर्ष काभ्रेको रोशी गाउँपालिकाका जनप्रतिनिधिलाई एक समारोहकाबीच हस्तान्तरण गरिएको हो । रोशी गाउँपालिका सिपाली, कोटथुम्काका बासिन्दा र हाल अमेरिका निवासी विश्व रक्तदाता अर्जुनप्रसाद मैनालीले आफ्नो पालिका कार्यालय, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष तथा रोशी माविका प्रअका लागि पुस्तक सौजन्य गरेका हुन् । 

कार्यक्रममा पुस्तक हस्तान्तरण गर्दै सत्ता संघर्षका लेखक रामकृष्ण भण्डारीले राजनीतिक स्थायित्व भए मात्रै मुलुक विकास र सम्वृद्दिको बाटोमा अघि बढ्ने बताए ।

राजनीति समाजसेवा भए पनि नेतृत्व तहमा सत्ताको हानथाप हुँदा जनस्तरसम्मै त्यसको नकारात्मक असर परेको बताउँदै उनले सत्ता संघर्षभन्दा विकास र सुशासनमा राजनीतिक दलहरु केन्द्रित हुनुपर्नेमा जोड दिए । 

लेखक भण्डारीले नेपालको राजनीतिबारे जान्न सत्ता संघर्ष निकै उपयोगी हुने ठानेर मैनालीले जनप्रतिनिधिलाई पुस्तक पढ्ने वातावरण मिलाएको बताएको जानकारी पनि त्यस अवसरमा दिए ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले राजनीतिले लय समाउन सके जनताले त्यसको प्रत्याभूति गर्न पाउने बताए ।

स्थानीय तहमा आफूहरुले राजनीतिक खिचातानीभन्दा विकास र जनसेवालाई प्राथमिकता दिएको बताउँदै उनले पठन संस्कृति हराउँदै गएको बताए । 

राजनीतिक परिवेश बुझ्न र विगतका बेथितिबाट सच्चिन सत्ता संघर्षले मार्ग निर्देश गर्ने उनको भनाई थियो ।
त्यस अवसरमा काभ्रेका वरिष्ठ पत्रकार मधुसुदन गुरागाईँले नेपालको राजनीतिबारे बुझ्नका लागि सत्ता संघर्ष सबैले पढ्नैपर्ने बताए । नेपालको राजनीतिक परिवेश झन अस्थीर हुँदै गएको भन्दै उहाँले स्थानीय तहका जनप्रतिनिधिले राजनीतिक स्थायित्वका लागि दबाब दिनुपर्नेमा पनि जोड दिए। 
 

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update