चितवन । आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि दलहरुले आज उम्मेदवारी दर्ता गर्दै छन् । जिल्लामा विशेष गरी चार दलका लागि निर्वाचन कार्यालयले समय तालिका तोकेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिनको १ बजे देखि ४ बजेसम्म ठूला दलहरुलाई उम्मेदवारी दर्ताका लागि समय दिइएको छ । कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विहान १० बजे, नेपाली कांग्रेसका लागि दिनको २ बजे, नेकपा (एमाले)का लागि ३ बजे र राप्रपाका लागि ४ बजे समय तोकिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले समय तालिका तोकेसँगै मनोनयनका लागि दलहरुले आ–आफ्नो तयारी थालेका छन् । यस क्षेत्रको उपनिर्वाचनमा रास्वपाका सभापति रवि लामिछाने, कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जिवलाल पुरीले उम्मेदवारी दर्ताको तयारी गरेका छन् ।
रास्वपाका केन्द्रीय सभापति लामिछानेले बिहान १० बजे मनोनय दर्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । आफ्नो उम्मेदवारी दर्ता गरेसँगै तनहुँमा समेत उम्मेदवारको दर्ता कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम रहेकाले चाँडै दर्ता गर्न लागिएको उहाँका निजी सचिव प्रकाश सिग्देलले बताए ।
कांग्रेसले उम्मेदवारी दर्ता गर्नका लागि दिनको १ बजे चौबिसकोठीमा भेला हुन आह्वान गरेको छ । एमालेका उमेदवार न्यौपानेले दिउँसो ३ बजे उमेदवारी दर्ता गर्दै छन् ।
गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित रास्वपाका केन्द्रीय अध्यक्ष लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद पद खारेज भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार छ सय ९५ जनाले मतदान गर्न पाउनेछन् । उनीहरुले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्ने छन् ।