NRN
तस्बिर र सम्बन्धलाई यसरी सोचौं न है….? 

 

  •  राजन घिमिरे 
     

भन्ने गरिन्छ, तस्बिर आफैं बोल्छ…।यो तस्बिर पनि बोलेको छ । हजारौं शब्दहरू यही तस्बिरले खुलस्त पारेको  छ । यो तस्बिर बाहिरिएसंगै कलाकारिता नगरिमा अनेकन चर्चा ,परिचर्चा र अड्कल बाज्जीहरु जन्मिए । सामाजिक वाक स्वतन्त्रताको नाममा पराकाष्ठा नै नाघ्ने गरि आफ्ना धारणाहरू बजारमा ब्यक्त गर्न पाएका नेपालीहरू यो तस्बिरको पक्ष र बिपक्षमा पनि देखिए । केहीलाई यो तस्बिर मजाक लाग्यो भने केहीले तस्बिर हेरेको भरमा यो र उ भन्दै आफ्ना धारणाहरू बजारमा फ्याले ।

केही कुरा पाउंना साथ त्यसको चिरफार गर्ने हरेक कुराको वकालत गर्दै आफूलाई बिज्ञ नै ठान्ने सामाजिक सन्जालमा कुर्लनेहरूको नज़र जब यो तस्बिरमा पर्यो , तब सकारात्मक र नकारात्मक अनि तर्क - बितर्कको पक्षमा बोल्नेहरूको ओइरो नै लाग्यो। तस्बिरमा देखिएका दुई अभिनेताको भाब, उद्देश्य वा सोचले के देखाएको छ ? यस तर्फ कसैको ध्यान नै गएको छैन तर, यो तस्बिर बाहिरिएपछि भने तस्बिरका पात्रको अबमूल्यन गर्दै सामाजिक सन्जालमा जून प्रतिक्रिया आयो , त्यो अति नै अशोभनिय , लज्जास्पद र मर्यादा बिपरितको थियो । तस्बिर देखे पछि  चर्चा गरियो  त, पुरानो कुराको मात्र । यो तस्बिरलाई सकारात्मक रूपले पनि त हेर्न सकिन्थ्यो नि । तस्बिरले आपसी माया, सम्मान , सदभाब र भाईचाराको सम्बन्ध पनि त बढाएको देखिन्छ नि ? तर नेगेटिब सोच भएकाहरूको दिमागमा यो पक्ष छिर्नै सकेन ।

dipeakraj1681617758.jpg

समय, परिस्थिति,उद्देश्य, गन्तब्य र अबस्था सधैं एकै नाशको हुंदैन र हुनु पनि हुंदैन । हिजो केही बिग्रिएको सम्बन्ध आज राम्रो पनि हुन सक्छ । हिजोको नकारात्मक अबस्था र परिणामलाई भजाएर त्यसको आडमा ताली बजाउनेहरु सधै सफल नै हुन्छन भन्ने छैन । जसको बारेमा यति धेरै चासो दिइन्छ , त्यो पात्रलाई नै बिगतका तिक्तताबारे मतलब छैन , तर बिगतको त्यो कुरालाई लिएर मजाग बनाउंनेहरू उचालिएको देख्दा भने एक पक्ष अचम्ब मान्छन । बिगतका कुरामा अल्झिएर नयां यात्रालाई कमजोर बनाउंन कोही पनि चाहंदैन र यी दुई ब्यक्तित्वहरू पनि चाहंदैनन् । बिगतका त्यस्ता बिषयलाई गिजोलेर आजको सम्बन्ध र मर्यादालाई फोहोरी बनाउंन यी दुई पात्रको उद्देश्य नै छैन । तर, यी दुईको सम्बन्धलाई पहाड़ बनाएर बजार तताउंने सोच भएका केहीहरू भने तस्बिरलाई भरपूर प्रयोग गरेर आफ्नो नियत सफल गर्नतिरि लागे । 

तस्बिर खिच्न कसले अफर गर्यो होला…? यसले नै गर्यो होला है…? होइन त्यसले गर्यो होला…? भनेर अनुमानको भरलाई समाचारको हेडिंग बनाउंदै दुबैको भाबना, सम्बन्ध र कलाकारिता बिधाको योगदानको अबमूल्यन गर्दै अडकल बाज्जी गरेर काखी बजाउंनेहरु त्यतिबेला  तिल्मिलाए, जतिबेला माया, सदभाब, अनि सकारात्मक सन्देश प्रबाह हुने गरेर यी दुईले आफ्नो सामाजिक सन्जालमा यो तस्बिर सार्वजनिक गरे । 

महान सोच र उद्देश्य भएकाहरु कहिले पनि इगोमा अल्झिंदैनन् र उनिहरू इगोका पक्षधर पनि हुंदैनन् । यस्तै उदाहरण दिएको छ यो तस्बिरले । कलाकारिता बिधा,क्षेत्र र बजारमा आ- आफ्नै शान , मान र वाहवाही भएका यी दुईको एक साथको यो तस्बिरले बजारमा ल्याएको तरंगले सांच्चै सकारात्मक सन्देश पनि प्रबाह गरेको छ । नेपाली कलाकारिता क्षेत्रमा समाचार र चर्चाको बिषय बनेको यो तस्बिरभित्र लुकेको करोडौ शब्द अनि मर्मलाई सकारात्मक सोचले सोच्दा कसो होला…? किन हामी हरेक कुरा, प्रसंग र बिषयलाई नागबेली जस्तो घुमाउंरो बनाउंनतिर लाग्न मात्र हौसिन्छौ….?

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update