NRN
ब्राण्ड छक्का पन्जाको  : सबै जोडिन आतुर 
  • राजन घिमिरे 

प्रसंग र कुरा दिपकराज गिरी,दिपाश्री निरौला र चलचित्र छक्का - पन्जा ब्राण्डको हो ।कलाकारिता बिधामा निरन्तरता ,अथक योद्दा अनि आफू लागेको बिधाप्रतिको नतमस्तकताको बलियो उदाहरण हुन दिपक र दिपा ।

 आज दिपक र दीपाले पाएको सफलता, कमाएको वाहवाही र स्याबासीको पछाडि थुप्रै उतार चढाबका कथाहरू जोडिएका छन । त्यसो त, यी दुईको सफलताको कारण यिनैसंगै सहयात्रा गरेर यात्रा  गर्ने र  छक्का - पन्जा ब्राण्डसंग जोडिएका सहकर्मीहरूको भूमिका र आबद्दता पनि कम छैन । यो बास्तबिकतालाई दिपक र दीपाले पनि बेवास्ता गरेको देखिंदैन र सकभर संगै यात्रा गर्ने कोशिश पनि गरेको पाईंन्छ । यात्रा शुरू गर्दाका सहयात्रीहरू लामो समयसम्म मिलेर जानु पर्छ भन्ने दिपक र दिपाको सोच र धेय आफैंमा सकारात्मक पक्ष पनि हो । 

 कुनै समय सानो पर्दा र ठूलो पर्दा भनेर भिन्नता गर्न पाउंदा शान ठान्ने ठूलो पर्दाको चलचित्र सर्जकहरूसंग चलचित्र बनाएर प्रतिस्पर्धामा उभिन आउंदा दिपक दिपा र उनका सहकर्मीहरूलाई सजिलो  थिएन । तितो सत्यको सफलतासँगै नेपाली सिनेमाको मूलधारमा आएर छ एकान छ हुँदै छक्का पन्जा -४ सम्मको यात्रा तय गर्नु कम चुनौती  थिएन । तर पनि यो लामो यात्रमा कतै नआत्तिकन,कतै नडगमगाईकन र कतै बिचलित नभैकन छक्का पन्जाले जून र जसरी गर्विलो ब्राण्ड स्थापित गर्यो , त्यसले सानो पर्दा र ठूलो पर्दाबिचको खाडल नै पुरिदियो । सानो र ठूलो पर्दा होइन कि उनिहरूको लागि प्रिय सृजना पस्कन सकियो भने  दर्शकहरूले सानो र ठूलो पर्दा भनेर भेदभाब गर्दैनन भन्ने तितो सत्य पनि हो दिपक - दिपा र उनका सहकर्मीहरूले देखाएको यो सफलता । 

 टेलिभिजनमा सित्तैमा हरेक साता देखा पर्ने अनुहारलाई हलमा पैसा तिरेर को हेर्न आउलान ? भनेर प्रश्न गर्नहरू नै यतिबेला छक्का पन्जासंग सहकार्य गर्न लालायित देखिएका छन । यो ब्राण्डसंग जोड़िन पाएमा नामसंगै दाम पनि हात पार्न सकिने निश्चित भैसकेको आज । गरे के हुन्न ? चाहिन्छ त निरन्तरता ,उद्देश्यप्रतिको इमान्दारिता अनि कर्मप्रतिको लगाब । यही कुरालाई शिरोधार्य गर्दै हिंडेको छक्का पन्जा ब्राण्डले आज के देश के बिदेश ? नेपालीहरू मांझ आफ्नो शानदार उपस्थिति जनाइरहेको छ । नेपालसंगै आज बिदेशमा पनि यसको ब्राण्डलाई आफ्नो पोल्टामा पार्न तँछाड मछाड नै हुने गरेको छ । 

 सिनेमा कर्म र नामलाई ब्राण्डको रूपमा स्थापित गरेर नेपालसंगै नेपालीहरू रहनु हुने प्रबासमा पनि बलियो उपस्थिति जनाएको छक्का पन्जा ब्राण्डलाई आगामी दिनमा पनि निरन्तर रूपमा अगाडि बढाउंनु पर्ने माग देशदेखी बिदेशसम्मका दर्शकहरूले गर्न थालेका छन । यतिबेला चलचित्र छक्का- पन्जा -४ ले १६ वटा हलहरूमा प्रदर्शनको ५१ औं दिन पार गरेको छ । आजको यो क्षणमा छक्का पन्जालाई ब्राण्ड बनाउंन यसको शुरूवातदेखी योसंग जोडिनु भएका र बिचमा सहकार्य गर्दै अगाडि बढ्नु भएकाहरूलाई मात्र होइन कि भबिष्यमा यो ब्राण्डसंग सहकार्य गर्न सोचिराख्नु भएका अनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा यसलाई साथ दिनु हुने समर्थक र सदभाब राख्नु हुने सबैमा हार्दिक बधाई…. ॥

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update