NRN
ग्रहण गर्दा फरक नपर्ने प्रसाद -२

राजन घिमिरे 

पछिल्लो समय नेपाली चलचित्र निर्माणको शैलीमा केही परिवर्तन देखा परेको छ । अब चलचित्र निर्माणले एउटा धारका दर्शकहरूलाई मात्र समेटेर आफ्नो उपस्थिति जनाउंन नसक्ने भएको छ । चलचित्र सबैका लागि अनि यसले सबै बर्ग , तह र तप्काका दर्शकहरूमा प्रभाब पार्न सक्नु पर्छ भन्ने मान्यतालाई अंगिकार गर्न सकियो  भने मात्र त्यो चलचित्रले सार्थकता पाउंछ भन्ने यर्थाथताप्रति पनि अब यो क्षेत्रसंग आबद्द सबैले मनन गरिसकेका छन । 

    चलचित्रको भाषा, शैली र बाचन स्पष्ट हुनु पर्छ । जति गहिरो बिषय र प्रस्तुति भएता पनि दर्शकहरूले सहज रूपमा त्यो चलचित्रलाई मनन गर्न सके भने त्यो नै चलचित्रको सफलता हो भन्ने मूल सोच र उद्देश्यमा कतै कहिं नडगमगाईकन चलचित्र प्रसाद -२ ले जून बिषय, शैली र कथा बाचन पस्किएको छ , त्यो सांच्चै तारिफ गर्न लायकको छ । आंखा अगाडिको बिषय र चित्रण त हो, तर त्यो कुरालाई मनमा छुने गरेर चलचित्रका लेखक र निर्देशकले जसरी पस्केका छन , त्यसमा कलाकारको अभिनयले झनै ज्यान भरेको छ ।  

     अघिल्लो प्रसाद नहेरेका दर्शकहरू पनि प्रसाद -२ हेरेपछी स्पष्ट हुन्छन । किनकी प्रसाद -२ को कथालाई लेखक शुशिल पौडेलले कतै र कहिं पनि अघिल्लोसंग टाढा गराएका छैनन । उनले अघिल्लो प्रसादको मर्मलाई पनि प्रसाद-२ संग जोडेर ल्याउंदा दर्शकहरू अल्मलिंदैनन । यो पक्ष पनि चलचित्र प्रसाद -२ को अर्को बलियो पक्ष हो । जातिए छुवाछुत , सामाजिक बहिष्कार र माया, प्रेम अनि पूर्ख्यौली शानका कारण गुम्दै गएका बिराशत , मान र आफन्तसंगको सम्बन्धमा खेलिने राजनितीका कटु सत्यमा निर्देशक सुदर्शन थापाले जसरी आफ्नो शसक्त निर्देशकीय क्षमता देखाएका छन , त्यो सह्रानीय नै छ । 

    त्यसमाथि लेखक शुशिल पौडेलको कथा बाचन गर्ने सहज शैलीले दर्शकहरूलाई चलचित्र बुझ्न कतै पनि कठिन हुंदैन । उनको यो बिशेषता दर्शकहरूका लागि उपहार नै साबित भएको छ । बिपिन कार्की , केकी अधिकारी र अर्पण थापाको उपस्थिति त चलचित्रको शान नै हो । यी तिनको अभिनय , प्रस्तुति अनि यी कलाकारले चलचित्रलाई जसरी बोकेका छन, त्यसमा कतै कहिं पनि खोट लगाउने ठाउं नै छैन । हजूर बुवा बनेका प्रकाश घिमिरे र नाती बिचको सम्बादले थोरै मन कमलो भएकाहरूलाई पनि नरूवाई छोड्दैन । 

    चलचित्र बुझ्ने शैली , सोच र ब्यक्त गरिने धारणामा परिवर्तन आयो होला , तर मन , भाबना र पिडा बोल्दा आंखा रसाउंने अनि ‘ बिचरा ‘ भन्ने हाम्रो मानबिय बिशेषता त त्यही हो नि ? यो कुरालाई चलचित्र प्रसाद -२ ले राम्रोसंग प्रस्तुत गरेको छ । अघिल्लो प्रसादको पर्दामा देखिएका कलाकारहरू  प्रसाद -२ मा नदेखिएता पनि चलचित्रमा त्यो खड्किंदैन । प्रसाद -२ मा लेखक , निर्देशक र कलाकारहरूले दर्शकहरूलाई यसरी बांधेर राखेका छन कि उनिहरूको काम र उपस्थिति सांच्चै तारिफ गर्न लायकको छ । 

     प्रसाद आफैमा पबित्र , चोखो र श्रद्दा गर्नु पर्ने चिज हो । प्रसाद ग्रहण गर्दा हामी जून सम्मान र भक्तिका साथ ग्रहण गर्छौ , त्यसको ग्रहण गर्ने शैलीले नै यसको महत्व दर्शाउंछ । यसै गरी चलचित्र प्रसाद -२ लाई सिनेमा हलमा गएर ग्रहण गर्दा पनि कतै कहिं पछुताउनु पर्ने अबस्था आउंने छैन भन्दा फरक नपर्ला…॥

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update