NRN
आंचललाई गाली गर्ने हामी चाहिं बौद्धिक…?

- राजन घिमिरे

       कलाकारिता फाँटमा को कसरी स्थापित भए…? कसको कसरी प्रबेश भयो र,कसरी अगाडि बढिरहेका छन ? अहिले यसबारे बखान नगरौं , कुनै दिन गरौंला । आजको प्रसंग र बिषय भनेको अभिनेत्री आँचल शर्माको हो । आँचलको बारेमा ठोकुवा गरेर चाहिं भन्न सकिन्छ कि यतिबेला उनी सफलताका साथ जहां छिन, त्यहां पुग्नुको कारण उनकै बलबुता हो । दर्शक प्रिय बन्न सक्ने उनको छबि,काम र उपस्थिति नै आंचलको बिशेषता अनि दखलता हो ।त्यस कारण पनि सानो तिनो झड्का,दवाब, घुर्की वा आरोप - प्रत्यारोपले उनको यात्रामा असर र प्रभाब परेको देखिंदैन ।तर पनि कहिलेकाहिं आंचलको अभिनय र उच्चतम कामलाई होइन कि केही यूटुबमा उनि उपस्थिति हुन नसकेको कारण देखाएर उनिप्रति गाली गलौज शुरू भएको छ ।

   ति यूटुबमा अन्तबार्ता नदिएकोमा आँचल आलोचित हुन पुगेकी छन । कसैलाई अन्तरबार्ता नदिनु वा कुनै यूटुब माथि आफूलाई असहज लाग्न सक्नु कलाकारहरूको नैसर्गिक अधिकार हो । उनले यसलाई अन्तबार्ता दिन्छु , यसलाई दिन्न भन्न सक्छिन र भन्न पाउंनु पर्छ । यति अधिकार कलाकारहरूमा हुन्छ । यो कुरालाई पहाड बनाएर उनको करिएर नै ध्वस्त पार्छु भनेर ‘ इगो ‘ लिने मिडियाहरूबाट अरू कलाकारहरूले कस्तो अपेक्षा राख्ने ? भोली आंचललाई जस्तै गाली गलौज अरू कलाकारहरूमा पनि नआउल भन्न सकिन्न । कलाकारहरूले पनि यूटुबहरूलाई अन्तबार्ता दिन त्रास मानिरहेको पाईन्छ, किनकी बोल्यो एउटा अनि हेडिंग अर्को ।

   बढी भ्यूज बढ्ने लोभ र लालचमा कलाकारहरूको ब्यक्तिगत चरित्र हत्या हुने मात्र होइन कि पारिवारिक समस्या नै पर्ने गरेर हेडिंग राखेपछि कुन कलाकार यूटुबमा अन्तरबार्ता दिन तयार हुन्छन त ? यो कुरामा यूटुब सन्चालकहरूले पनि आफ्नो भूमिका र प्रस्तुति तर्फ केही सोच्ने कि ? केही साच्चिने कि ? आँचल शर्माले अन्तरबार्ता नदिएकै भरमा गुट वा उपगुट बनाएर उनि माथि ‘ अब तिमीलाई गार्हो हुन्छ ‘ भनेर अभिनेत्री माथि सेन्टिमेन्टल गेम खेल्नु पत्रकारिताको धर्म भित्र पर्छ त…? यदि आँचल चिनजान , सम्बन्ध वा सिफारिसको भरमा कलाकारितामा टिकेकी अभिनेत्री थिईन भने उनलाई कसैको आरोप - प्रत्यारोप र गुटबन्दीको खेलने प्रभाब पार्न सक्ला तर आँचल दर्शकहरू र स्तरिय कामकै कारण नेपाली चलचित्र क्षेत्रमा टिकेकी अभिनेत्री हुन । जसले जे भने ता पनि यतिबेला राम्रो काम,दाम र प्रतिष्ठित पारिवारिक कारण राम्रोसंग स्थापित भएकी अभिनेत्री हुन आँचल शर्मा ।

   अहिले एक समूह कलाकारिता क्षेत्रबाट आंचललाई पत्ता साफ गराउंनु पर्छ भनेर लागेको गाईगुईं पनि सुन्नमा आएको छ । कुनै यूटुबमा अन्तरबार्ता नदिएको भरमा कसैको पत्ता साफ़ गर्न सक्ने हैसियत र ल्यागत हुन्छ होला जस्तो लाग्दैन । जबसम्म काम राम्रो हुन्छ र दर्शकहरूले बिस्वास गरिरहन्छन , तब सम्म न त कुनै मिडियाले केही गर्न सक्छ न त यूटुबले नै । भनेको हेडिंग राख्न नपाएकोमा वा कुनै कलाकारले हेडिंग गलत भयो भनेर भनेको र अन्तरबार्ता नदिएको भरमा अभिनेत्री माथि खनिनु र दोषारोपणमा लाग्नु कतैबाट पनि शोभनिय कार्य र सोच होइन ।यस्तै ब्यबहार , उपस्थिति र प्रबृत्तिका कारण आज चलचित्र पत्रकारिता र यूटुब पत्रकारिता अनि यो बिधामा आबद्द रहेका हामीप्रति अबिस्वास बढ्दै जानुको कारण हो भन्दा फरक नपर्ला ।

                             घाम जस्तै छर्लगं यस्तो तितो सत्यमा हामी सच्चिने कि कलाकारहरू..?

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update