NRN
दार्चुला हिमपहिरोमा  बेपत्ता भएकाहरुको पहिचान खुल्यो


दार्चुला । जिल्लाको व्याँस गाउँपालिका–१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता भएका ५ जना यार्सागुम्बा संकलकको पहिचान खुलेको छ ।

बेपत्ता मध्ये ३ जना डोटी बुडरका छन् भने २ जना व्याँसको छिमेकी दुँहु गाउँपालिकाका बासिन्दा भएको प्रहरीले जनाएको छ । हिमपहिरोले मंगलबार दिउसो यार्सा संकलक बसिरहेको टेण्टहरु पुरेको थियो । पुरिएका मध्ये ७ जनाको सुरक्षाकर्मीले हिजै उद्धार गरी छाङरु ल्याएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार बेपत्ता हुनेमा डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्नी डोल्मा थापा, सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा रहेकी छन् । 

यस्तै उक्त हिमपहिरोमा परी दुँहु गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर पनि बेपत्ता भएका छन् । उक्त क्षेत्रमा लगातार हिमपात भइरहेको छ । बाक्लो हिउ र अध्याँरो भएकाले छाङरुबाट गएको सशस्त्र र नेपाल प्रहरीको टोली हिजो साँझ ७ जनाको उद्धार गरी फर्किएको थियो । उक्त टोली आज पुनः घटनास्थलतर्फ जाने प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update