NRN
अष्ट्रेलियामा प्रसाद -२ को चर्चा चुलिंदै….॥

- राजन घिमिरे

बिदेशमा नेपाली चलचित्र प्रदर्शन गर्नु सजिलो कुरा होइन ।कहिले काहिं प्राईभेट शोहरू होलान र भैरहेका पनि छन । नेपाली सिनेमाहरूलाई प्रबासमा पुर्याउंन यस्ता शोहरूको आयोजना गर्ने प्रबासी नेपालीहरूको योगदानलाई पनि सलाम गर्नै पर्छ । त्यसमाथि महँगा र सुबिधा सम्पन्न हलमा बिदेशी सिनेमा जस्तै हैसियतमा नेपाली सिनेमाहरूको रेगुलर शो गर्न सक्नु कम साहसीक कार्य होइन ।

यतिबेला अष्ट्रेलियामा रहेको नमस्ते इन्टरटेनमेन्टका देव कार्कीले यस्तै साहसीक कार्य गरेर समग्र नेपाली चलचित्र क्षेत्रबाट स्याबासी र वाहवाही कमाईरहेका छन । यो प्रसंग र बिषय हो चलचित्र प्रसाद २ को ।समय समयमा अष्ट्रेलियाका बिभिन्न शहरहरूमा त्यहां रहनु हुने नेपालीहरूले प्राइभेट शो मार्फत नेपाली चलचित्रहरु हेर्दे आइरहनु भएको छ । नेपाली चलचित्रहरूलाई माया गर्दै साथ र समर्थन पनि गर्दै आइरहनु भएको छ । तर चलचित्र प्रसाद २ लाई भने उहांहरुले अष्ट्रेलियाको महंगो र सुबिधा सम्पन्न हलहरूमा बिदेशी चलचित्रहरू सरह रेगुलर शोमा हेर्ने अबसर पाउनु भएको छ यतिबेला ।

अष्ट्रेलियाका शानदार सिनेमा हलहरूमा बिदेशी चलचित्र जस्तै नेपाली चलचित्रहरूको पोष्टर टांसियोस,हलहरूमा प्रचार सामाग्रीहरू देख्न पाइयोस र ट्रेलरहरु घन्कियोस भन्ने नेपालीहरूको चाहना र सोचले अहिले मूर्तरूप पाएको छ -‘ आगामी दिनहरूमा पनि यस्ता अबस्था आओस र हामी प्रबासमा रहेका नेपालीहरूले नेपाली चलचित्रको यस्तो उपस्थितिप्रति गौरब गर्न पाउंने अबस्थाले निरन्तरता पाइरहोस भन्ने कामना हाम्रो छ -‘ सिड्नी निबासी नबिन घायल भन्छन । अहिले चलचित्र प्रसाद २ पुरा अष्ट्रेलिया ४२ वटा भन्दा बढी हलहरूमा रेगुलर शोमा चलिरहेको छ ।

कहिले काहिं गरिने शो भन्दा टिकटको रेट कम पनि हुने र रेगुलर शो भएकोले समय पनि छानेर हेर्न पाईने हुनाले चलचित्र प्रसाद २ हेर्न अहिले अष्ट्रेलियामा रहनु हुने नेपाली चलचित्रप्रेमी प्रबासी नेपालीहरू आकर्षित हुनु भएको पाइएको छ । प्रसाद २ को यसरी अष्ट्रेलियामा शानदार उपस्थितिप्रति अष्ट्रेलियामा रहनु हुने नेपालीहरूले गौरब गर्नु भएको छ ।

यतिबेला प्रसाद २ अष्ट्रेलियाका बिभिन्न राज्यहरूमा रहेका इभेन्ट सिनेमा ,बि सी सी सिनेमा ,होयट्स सिनेमा जस्ता चलेका र सुबिधा सम्पन्न ए ग्रेटका सिनेमा हलहरूमा रेगुलर शोमा शानदारका साथ प्रदर्शन भैरहेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update