NRN
स्पेनको भब्य घोडादौड र सांस्कृतिक कार्यक्रममा      घन्कियो कुटुमा कुटु…..( तस्बिरहरू सहित )

स्पेनस्थित नेपाली राजदूतावासले शनिबार म्याड्रिडको हिपोड्रोमो डी ला जज्र्वेलामा घोडा दौड सहित विधिन सांस्कृतिक कार्यक्रमको आयोजना गर्यो । नेपाल र स्पेनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५५ औं वर्षको अवसरमा कार्यक्रमको आयोजना गरिएको थियो । नेपालको संस्कृति र पर्यटन प्रवद्र्धन गरी सन् २०२६ सम्ममा स्पेनबाट प्रतिवर्ष कम्तिमा एक लाख पर्यटक नेपाल पठाउने तथा नेपालमा रहेका हिमाल तथा हिमनदीहरूमा जलवायु परिवर्तनको असरबारे चेतना जगाउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल र स्पेनको राष्ट्रिय गान बजाइएको उक्त कार्यक्रमको स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले पानसमा दिप प्रज्वलन गर्नु भएपछि औपचारिक सुरुवात भएको थियो ।

कार्यक्रममा उत्तर अमेरिका, पूर्वी यूरोप एसिया र प्रशान्त क्षेत्रका महानिर्देशक तथा स्पेनको परराष्ट्र मन्त्रालयका जेभियर सालिडोले आगन्तुकहरुलाई सम्बोधन गर्दै नेपाल-स्पेन सम्बन्धको बलियो पक्षबारे प्रकाश पार्नु भएको थियो ।उहाँले पर्यटन, संस्कृति, खानपान, हरित ऊर्जालगायतका क्षेत्रमा दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउने इच्छा व्यक्त गर्नुभयो । राजदूत डा. पराजुलीले उपस्थित व्यक्तिहरूलाई सम्बोधन गर्दै कार्यक्रममा सबैलाई स्वागत गर्नु भएको थियो । उहाँले कार्यक्रममा साझा मूल्यमान्यता, सांस्कृतिक आदानप्रदान तथा विभिन्न क्षेत्रमा भएका सहयोगात्मक प्रयासहरू नै दुई देशबीच रहेको दिगो साझेदारीको प्रमाण भएकोमा जोड दिनुभयो । कार्यक्रममा प्रसिद्ध पर्वतारोही मिस एड्रियाना ब्राउनलीले मन्तव्य राख्नुहुँदै हिमाल र स्थानीयहरूमा जलवायु परिवर्तनको प्रभाव विरुद्ध तुरुन्त कदम चाल्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली र स्पेनिस गीतमा ‘अर्केस्ट्रा’ प्रस्तुति गरिएको थियो । कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालका आठ अग्लो हिमालको नाम राखिएका आठ वटा घोडाको प्रदर्शनी गरिएको थियो । जसमा प्रत्येक पर्वतको संक्षिप्त विवरण राखिएको थियो । प्रदर्शनी पश्चात शुरू भएको घोडा दौडमा अन्नपूर्ण नामको घोडाले दौड जितेको थियो ।राजदूत डा. पराजुलीले विजेता घोडसवारलाई भगवान बुद्धको मूर्ति तथा सहभागि सबैलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रमको सांस्कृतिक खण्डमा स्पेनिस समूहले नेपाली गीत ‘कुटुमा कुटु’, ‘मै छोरी सुन्दरी’ र फ्लामेन्कोमा नृत्य प्रदर्शन गरेका थिए ।

कार्यक्रममा अजय लोप्चनले प्रस्तुत गरेको मञ्जुश्री नृत्यपछि सबै वर्ग र क्षेत्रलाई प्रतिनिधित्व गर्दै विभिन्न नेपाली भेषमा आएका प्रवासी नेपालीहरुले सामूहिक तथा व्यक्तिगत प्रस्तुती दिएका थिए । कार्यक्रममा फेसन शो पनि राखिएको थियो जसमा मोडलहरुले विभिन्न नेपाली हस्तकला तथा कपडाहरु प्रदर्शन गरेका थिए । कार्यक्रममा गायक श्रुपक डोटेल र स्पेनिस गायिका सुश्री एन्ड्रियाको पनि प्रस्तुति रहेको थियो मोनिका होयोस र सन्तोष श्रेष्ठको संयोजक रहेको कार्यक्रममा ‘सेलरोटी’ र ‘पकौडा’ लगायतका विभिन्न नेपाली परिकारहरु खुवाइएको थियो ।

कार्यक्रममा स्पेनका लागि आधिकारिक राजदूत, कूटनीतिक निकाय, स्पेनको परराष्ट्र मन्त्रालयका अधिकारी, भ्लगर्स, प्रभावशाली व्यक्तित्व, व्यवसायिक घराना लगायतका नेपाली डायस्पोरा, कलाकार, सञ्चारकर्मी, विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थी, स्पेनिसलगायत करिब तीन हजार व्यक्तिको सहभागिता रहेको थियो । कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड र स्पेनमा रहेका नेपाली डायस्पोराको सहयोग रहेको थियो । कार्यक्रममा विश्वविद्यालय र नेपाली डायस्पोराका ८० स्वयंसेवकहरू थिए जसले कार्यक्रमलाई सुचारु रूपमा सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । कार्यक्रम खेलकुद, संस्कृति र जलवायु परिवर्तन जोगाउन चेतनामूलक रहेकोमा उपस्थित अतिथि तथा सहभागीहरुद्वारा व्यापक रूपमा प्रशंसा गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update