NRN
बिहीबार मच्छेन्द्रनाथको भोटो देखाइँदै,उपत्यकामा सार्वजनिक विदा

वर्षा र सहकालका देवताको रूपमा मान्ने रातो मच्छेन्द्रनाथको भोटो बिहीबार देखाइँदैछ। यस अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ । मच्छेन्द्रनाथको यात्रा एक हजार तीन सय वर्ष अघि नै सुरू भएको मानिन्छ । किम्वदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो।

कर्कोटक वैद्यको खोजीमा लागे। खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोकअर्थात् टौदह लगे। डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए। औषधिले रानीको आँखा दुख्ने रोग निको भयो। मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरूप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे।

भूतले दिन नमानेपछि विवाद भयो। कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो। अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो। आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो। त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ। अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किम्बदन्ती छ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update