NRN
रास्वपा सांसदकाे प्रश्न : याे कस्ताे बजेट ?

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले चालु आर्थिक वर्षमा सरकारले लिएको कर नीति खराब भएका कारण नेपालमा गरिबहरु अागामी दिनहरूमा झनै गरिबहरूकाे संख्या बढ्ने बताएकी छन् ।

आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्यमाथि प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले आलु र प्याजजस्ता दैनिक उपभोग्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लिने सरकारको नीतिले गरिबलाई झन् गरिब बनाउने दाबी गरिन् ।

सरकारले आवरणमा किसान संरक्षणको कुरा गरेर किसानलाई नै गरिब बनाउने कर नीति लागू गरेको उनले बताइन् । ‘दूध बेच्ने किसानले पनि तरकारी किनेर खानुपर्छ’ उनले भनिन्, ‘त्यसकारण यो निर्णयले सरासर मार कसैलाई पर्छ भने किसानलाई नै हो ।’

राष्ट्रिय तथ्यांक कार्यालयले बताए अनुसार नेपालमा गरिबहरुले खानामा आफ्नो आम्दानीको ६५ प्रतिशत खर्च गर्नुपर्ने र धनीले ३५ प्रतिशत मात्र खर्च गर्नुपर्ने देखाएको भन्दै सांसद श्रेष्ठले सोधिन्, ‘खानेकुरामा कर लगाएपछि कसलाई बढी कर भयो ?’

सरकारको यो निर्णयले बजेट पास भएपछि आलु, प्याज १३ प्रतिशतले महंगो हुने भएकाले यो निर्णय लागू हुन नदिने सांसद श्रेष्ठले बताइन् ।

‘अब त तपाईले अर्को वर्ष सासमा पनि कर लाउनुहुन्छ । हरेक सासको कति मोल लिनुहुन्छ ?’  आक्रोशीत हुदैं उनले प्रश्न गरिन्। दलहरुले राजनीतिक मुद्दा उठाएर पटक पटक संसद अवरोध गरेको अब आफूहरु नागरिकको मुद्दा उठाएर संसद अवरोध गर्ने सांसद श्रेष्ठले बताइन् । गरिबहरुलाई बढी कर लगाउने, यो स्वीकार्य छैन’ सांसद श्रेष्ठले भनिन्।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update