NRN
तिलोत्तमामा निजी क्षेत्रको लगानीमा बन्ने भयो २५ हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला

- राजन घिमिरे

रुपन्देहीको तिलोत्तमामा निजी लगानीमा २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशाला बन्ने भएको छ ।

तिलोत्तमा–१७ पूर्व दरखसवामा पौने ५ बिघा क्षेत्रफलमा रंगशाला बन्ने रङ्गशालाको सोमबार शिलान्यास गरिएको छ । यो निजि लगानीमा बन्ने नेपालको पहिलो ठूलो क्रिकेट रंगशाला हुनेछ ।

एक्स्ट्राटेक ओभल नामाकरण गरिएको रंगशालाको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शिलान्यास गरेका हुन् । ९ वर्षदेखि अस्ट्रेलियामा सूचना प्रबिधि क्षेत्रको ब्यबसाय गर्दै आएका बिनोद कुँवर र सुदिच्छा गौतमको लगानीमा बन्ने रंगशाला पहिलो वर्ष ५ हजार दर्शक क्षमताको हुने र हरेक वर्ष ५ हजार क्षमता थप्दै ४ वर्षमा २५ हजार क्षमताको बनाउने लक्ष्य छ । यो क्रिकेट रंगशाला होस्टेल, एकेडेमी र तालिम केन्द्र सहितको हुने एक्स्ट्राटेक ओभल प्रालिका प्रबन्द निर्देशक बिनोद कुंवरले बताए ।

आफू क्रिकेटको पारखी भएकाले यो खेलको विकासमा निजी क्षेत्रबाट योगदान गर्ने उद्देश्यले रंगशालामा लगानी गरेको बताए । चार तलाको भवन सहितको रंगशालामा एकेडेमी र तालीम केन्द्र संचालनका लागि पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनलाई जिम्मेवारी दिइएको एक्स्ट्राटेक ओभल प्रालिका चिफ अप्रेटिङ अफिसर सुदिच्छा गौतमले बताइन् ।

एक वर्षमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी रंगशालामा ८ सय ट्रक माटो हालेर जग्गा सम्माउने काम भैसकेको बिनोद कुंवरले बताए । रंगशाला चार वर्षमा पूरा हुने उनले बताए ।

सो अवसरमा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले रुपन्देही जिल्ला क्रिकेटको उर्बरभूमि भएको र अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न रंगशाला बनेपछि खेलाडी उत्पादन र प्रतियोगिता आयोजना मात्र नभई खेल पर्यटनमार्फत समग्र नगरको विकासमा योगदान पुग्ने बताए ।

उनले निजी क्षेत्रबाट लगानी भएपनि यो नगरकै गौरवको आयोजना हुने बताए । नेपाल क्रिकेट संघ क्यानका सचिव प्रशान्तविक्रम मल्ल,नेपाल ओलम्पिक कमिटीका केन्द्रीय सदस्य दिर्घबहादुर केसी लगायतले यो रंगशाला बनेपछि रुपन्देहीले क्रिकेटमा फड्को मार्ने बताए ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update