NRN
श्रद्धाञ्जलीका लागि मन्त्री सिंहको पार्थिव शरीर धनगढीमा

मंगलबार दुर्घटनामा परी निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई धनगढीस्थित क्षेत्रीय रंगशालामा राखिएको छ। 

मन्त्री सिंहको गृह जिल्ला बझाङ जाने क्रममा बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेर निधन भएको थियो । मन्त्री सिंहसहित उनकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको पनि मृत्यु भएको थियो ।

बुधबार बिहान राखिएको मन्त्री सिंहको पार्थिव शरीरमाथि मुख्यमन्त्री कमलबहादुर शाहसहितका नेताहरु देशसभाका सभामुख भीमबहादुर भण्डारी, प्रदेश सरकारका मन्त्री, विभिन्न राजनीतिक दलका प्रदेशसभा सदस्यहरु, राजनीतिक दलका प्रदेश तथा जिल्ला स्तरका नेता, धनगढीका मेयर गोपाल हमाल लगायतले पुष्पगुच्चासहित श्रद्धाञ्जली अर्पण गरेका छन् ।

मन्त्री सिंहको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि हेलीकप्टरमार्फत् गृह जिल्ला बझाङ लगिने भएको छ।

घाइते भएका उनका पिएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीलाई हेलिकोप्टरमै कोहलपुरमा उपचार भइरहेको छ।

 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update