NRN
जापानमा नेपाली चलचित्र प्रदर्शनमा युनाको एकछत्र राज

जापानमा पछिल्लो समय नेपाली फिल्मको बजार फराकिलो हुँदै गइरहेको छ । रामबाबु गुरुङ निर्देशित फिल्म 'कबड्डी ४' र उपेन्द्र सुब्बा निर्देशित फिल्म 'जारी'ले रेकर्डब्रेक विजनेस गरेपछि नेपाली फिल्मको विजनेसको लागि जापान कोशेढुङ्गा साबित बनेको छ ।

एकपछि अर्को गर्दै नेपाली फिल्मको सफल प्रदर्शन नेपाली फिल्म उधोगको लागि नै शुभ संकेत हो । पछिल्लो समय नेपाली फिल्मको प्रदर्शन र प्रवर्धनमा अग्र पङ्ग्तिमा आएको कम्पनि हो ‘यूएनए इन्टरटेन्मेन्ट’ । यो कम्पनिले जापानमा थुप्रै नेपाली फिल्मको प्रदर्शन र प्रवर्धन गर्दै आएरहेको छ ।

यतिबेला वर्ष २०८० का संभावनावान तीन ठुला ब्यानरका फिल्मको जापान प्रदर्शन अधिकार लिएर प्रचारप्रसार समेत थालनी गरिसकेको छ ।

‘यूएनए’ले तीन फिल्म (पशुपति प्रसाद २) ‘भस्मे डन’, र ‘दिमाग खराब’ र ‘नाङ्गो गाउँ’ को प्रदर्शन अधिकार आफ्नो पोल्टामा पारेको छ ।’नाङ्गो गाउँ’लाई नेपालबाट भिजोनिया कम्पनिका सुवास लामिछानेले खरिद गर्दा जापानको नागोया प्रदर्शन अधिकार भने ‘यूएनए’ले लिएको हो ।

कम्पनिका निर्देशक उज्ज्वल गुरागाइँले तीनवटै फिल्मलाई जापानमा रहेका नेपालीमाझ प्रदर्शनको लागि महंगो रकममा खरिद गरेको बताए । जापानमा रेष्टुरेन्ट र पार्टी हलमा नेपाली फिल्म प्रदर्शन हुँदै आएकोमा यो कम्पनि एक कदम अघि बढ्दै अब फिल्म हलमा नै नेपाली फिल्मको प्रदर्शन गराउँदै छ ।

गुरागाइँले दिएको जानकारी अनुसार नेपाली पर्वहरूको अबसर पारेर आउँदो तीजमा ‘नाङ्गो गाउँ’, दशैंमा ‘पशुपति प्रसाद २’ र तिहारमा दिमाग खराब प्रदर्शन हुनेछन् । जापानका विभिन्न शहरमा फिल्मको प्रदर्शनको लागि सहकार्य गर्न जापानबासी नेपालीमाझ कम्पनिले सार्वजनिक आह्वान समेत गरेको छ ।

उल्लेखित फिल्मको टिकट पनि आफ्नै वेभसाइट (unaentertainment.jp) बाटै खरिद गर्न सकिवे व्यवस्था समेत कम्पनिले मिलाएको छ ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update