NRN
सिड्नीमा ध्यान योग सम्पन्न, उत्साहजनक सहभागिता

- राजन घिमिरे

गैह्र आबासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको टास्क फोर्स, विद्यार्थी सहयोग कमिटीको आयोजनामा शनिबार सिड्नीमा एकदिने ध्यान, योग र प्रेरणा शिविर सम्पन्न भएको छ । सफल जीवन यापन गर्नका लागि शारीरिक रूपमा सुस्वास्थ, मानसिक रूपमा सन्तुलन, बौद्धिक रूपमा प्रतिभावान्, आत्मिक रूपमा सबल र सामाजिक रूपमा सहयोगी हुनुपर्ने शिविरको मुख्य सन्देश रहेको छ ।

सिड्नीका विभिन्न सअर्वहरुमा रहेका नेपाली विद्यार्थी र अभिभावकहरुलाई लक्षित गर्दै शिविर आयोजना गरिएको थियो । ब्यस्त र बदलिँदो जीवनशैलीका कारण मानिसहरू विभिन्न रोगबाट ग्रसित हुने गरेको बताउँदै योग साधनालाई हरेक दिन प्रयोग गर्नुपर्ने योग प्रशिक्षक आचार्य राजन शर्माले बताए ।

उनले शरीरमा ब्यायम हुने भएकाले पनि योगलाई दैनिक एकघण्टा समय दिनुपर्नेमा जोड दिए । स्वस्थ्य खानपान र अनुशासित जीवनशैलीसंगै योगलाई दैनिक जीवनको एउटा महत्वपूर्ण हिस्सा बनाउन सक्ने व्यक्ति नै सफल हुने उनको भनाई थियो । त्यस्तै, प्रेरणादायी ध्यानका विषयमा प्रशिक्षण दिदै ध्यानका बहुआयामिक फाइदाका विषयमा ध्यान प्रशिक्षक प्रकाश भट्टराईले चर्चा गरेका थिए ।

सिड्नीमा नेपाली समुदाय माझ पछिल्लो समय योग र ध्यान गर्ने संस्कार हुर्कदै गएकाले अध्ययन र कामसँगै बढ्ने मानसिक तनाब कम गर्ने उद्देश्यले शिविर आयोजना गरिएको कार्यक्रमका संयोजक बद्री बरूवालले जानकारी दिए ।

‘निकै उत्साहजनक सहभागिता थियो, हामीले नियमित योगसाधानको सम्भावना देखेका छौ,‘घरमै पनि योग गर्न सकिने भएकाले शिविरमा सहभागीलाई थप सहज भएको छ’ उप- संयोजक चिरन्जिबी तिवारीले बताए । प्यासिफिक कलेज अफ टेक्नोलोजीले मुख्य प्रायोजन गरेको उक्त शिविरमा एनआरएनए न्यू साउथ वेल्स राज्यका संयोजक देव गुरुङ लगाएत विभिन्न समुदायका अगुवाहरु सहित १ सय भन्दा बढी व्यक्तित्वहरुको सहभागिता थियो ।

कार्यक्रममा उल्लेखनीय उपस्थिति देखेर हामी हर्षित भएका छौ तसर्थ छिट्टै फेरी अजै बृहत ध्यान, योग र प्रेरणा सिबिर गर्छौ- सचिब अमृत शर्माको भनाई थियो ।

साथै कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सबै व्यक्तित्त्वहरु र संघ सस्थाहरुलाई सचिब शर्माले धन्यवाद र प्रशंसा पत्र प्रधान गर्दै कार्यक्रमको समापन गरेका थिए ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update