प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति स्व. गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा आफूले प्रस्ताव नगरेर आफूलाई पश्चात्ताप भएको बताउनु भएकाे छ। सोमबार कोइरालाको शतवार्षिक समारोहलाई सम्बोधन गर्दै उहाँले कोइरालाई राष्ट्रपति नबनाएर आफूलाई पश्चात्ताप भएको स्वीकार गर्नुभएकाे छ ।
उहाँले कोइरालालाई शान्ति र संविधानको नायकको रुपमा भावविहोल भएर बिदाई गरेको स्मरण समेत गर्नुभयाे । पहिलो भेटदेखि अन्तिम भेटसम्म कोइरालामा कुनै द्विविधा, आशंका, अस्थिरता नदेखेको प्रचण्डले बताउनुभयाे।
प्रधानमन्त्री प्रचण्ड भन्नुहुन्छ, ‘म गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदै गर्दा गिरिजाप्रसाद कोइरालालाई पहिलो राष्ट्रपति प्रस्ताव गर्नैपर्थ्यो। मैले सकिनँ, मलाई पश्चात्ताप छ,’ ‘उहाँलाई राष्ट्रपतिको प्रस्ताव नगरिराख्दा सायद उहाँले मलाई पहिलाको जस्तो भरोसा र विश्वास गर्नुहुन्न कि जस्तो लाग्थ्यो तर उहाँले त्यस्तो गर्नुभएन । मैले प्रधानमन्त्रीबाट राजीनामा गर्ने मनस्थिति बनाएपछि पटक पटक राजीनामा नदिन भन्नुहुन्थ्यो । उहाँमा भएको राजनीतिक सुझबुझ र दुर्दृष्टिकै कारण अहिलेको परिवर्तन सम्भव भएको हो,’ ।
‘आज मैले भन्नुपर्छ, बरु मैले गल्ती गरेँ उहाँले गल्ती विल्कुल गर्नुभएन। मैले बरु उहाँसँग पहिलो भेटमा भनेका कुरा र लिएका प्रतिबद्धता सबै पूरा गर्न कतिपय सन्दर्भमा सकिन, तर मैले उहाँको विपरीत निर्णय गर्दा पनि मलाई विश्वास गर्न छाड्नुभएन। मलाई कुनै न कुनै रूपमा संरक्षण गर्ने, आफ्नो ऐतिहासिक दायित्वबाट बिल्कुल विचलित हुनुभएन । गणतन्त्रको घोषणा गर्न ल्याइ पुर्याउन नेतृत्व गर्ने महानायकको छवि बन्यो गिरीजा कोइरालाको।’
शान्ति सम्झौता लगायतका राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै प्रचण्डले पहिलो भेटदेखि अन्तिम भेटसम्ममा आफूले गल्ती गरेको तर कोइरालाले गल्ती नगरेको बताउनुभयाे ।