प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने भएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमणका रूपमा गत जेठमा भारत गएका उनी केही सातापछि चीनको भ्रमणका लागि जान लागेका छन्।
परराष्ट्रमन्त्री एनपी साउदले नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै ‘सेप्टेम्बरमा हुने प्रधानमन्त्रीको चीन भ्रमण महत्वपूर्ण हुनेछ, सार्थक हुनेछ,’ भन्दै जानकारी दिएका हुन् ।
‘लाभ लिने सन्दर्भमा प्रधानमन्त्रीज्यूको आगामी सेप्टेम्बरमा हुने चीन भ्रमण महत्वपूर्ण हुनेछ,’ उनले भने, ‘नेपालले राष्ट्रिय हितलाई केन्द्रमा राखेको छ।’ नेपाल दुई ठूला छिमेकी मुलुकको बीचमा रहेकाले दुवैतिर सन्तुलित सम्बन्ध राखेर राष्ट्रको हितमा काम गर्न सरकार तयार रहेको पनि उनले बताए ।
परराष्ट्रमन्त्रीले भने, ‘बेइजिङस्थित नेपाली दूतावासले प्रधानमन्त्रीज्यूको भ्रमणको तयारी गरिरहेको छ। भ्रमणको मिति भने टुंगो लागिसकेको छैन।’
परराष्ट्रमन्त्रीले उत्तरी छिमेकी चीन विश्वव्यापी रूपमा शक्तिशाली राष्ट्रका रूपमा उदाँइरहेको भन्दै त्यसको सकरात्मक सदुपयोग गर्न सकिने बताए ।