NRN
बिहीबार पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले गर्याे राष्ट्रियसभाको बैठक अवरुद्ध

नेकपा एमालेले बिहीबार पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । 

गत सोमबार प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचनका क्रममा प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दै अभिव्यक्ति दिएका थिए प्रधानमन्त्रीको साेहि अभिव्यक्तिलाई लिएर एमालेले बुधबार पनि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन अवरुद्ध गरेको थियो ।

बिहीबार दिउँसो १ बजे बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए ।

एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले प्रचण्डले प्रधानमन्त्री बन्न भारतको निर्देशन चाहिन्छ, भारतको सल्लाह सुझाव चाहिन्छ भन्ने आशयको अभिव्यक्ति दिएकाले उनी सो पदमा बस्न अयोग्य भएको दाबी गरे र राजीनामा नदिएसम्म सदन चल्न नदिने बताए । उनले भने ,‘आज सामाजिक सञ्जालमा सदनले बनाउने भनेको प्रधानमन्त्री दिल्लीको आदेश र निर्देशनमा बन्दो रहेछ भन्ने चर्चा भएको छ । यसले हामी नेपालीको शीर निहुरेको छ’ ।

सो अभिव्यक्तिबारे सदनलाई जानकारी नगराएसम्म बैठक सञ्चालन हुन नसक्ने उल्लेख गर्दै एमाले सांसद देवेन्द्र दाहालले भने, “प्रधानमन्त्रीले भनेजस्तै हो भने, भारतको इसारामा बन्ने प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन, प्रधानमन्त्रीले जवाफ नदिएसम्म यो बैठक अवरुद्ध गर्छौं ।”

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले बैठक अवरुद्धपछि शुक्रबार १२ बजेर २९ मिनेटमा बैठक बस्‍ने गरी राष्ट्रिय सभाको बैठक स्थगित गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update