कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दुई मन्त्री नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ लिएका छन् । थापासँगै नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले मन्त्रीको शपथ लिएका छन्।
बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा थापा मुख्यमन्त्री बनेका थिए। उनलाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका थिए, जुन अहिले विवादित छ।
मुख्यमन्त्रीसहित ४ जना मन्त्रीको शपथ गराउने तयारी भएपनि माओवादीले आन्तरिक विवादका कारण मन्त्री पठाएन । जीवन आचार्यलाई पनि मन्त्री बनाउने तयारी भएकोमा अन्तिममा उनको शपथ रोकिएको छ । जीवन प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डका ज्वाइँसमेत हुन् । माओवादीले आज शपथ समारोहमा आफ्ना सांसदलाई पठाउन सकेन।
विवादका बीच मुख्यमन्त्री नियुक्तदेखि शपथसम्ममा अन्योल बढेको हो ।