प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहालको शव श्रद्धाञ्जलीका लागि पेरिसडाँडास्थित पार्टी कार्यालय परिसरमा राखिएको छ । दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न नेकपा (माओवादी केन्द्र)को पार्टी मुख्यालयमा नेता/कार्यकर्ताको भीड लागेको छ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।
माओवादी केन्द्रका अनुसार कास्की जिल्लाको हेम्जामा वि.सं. २०११ असार २१ गते आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो ।
कम्युनिस्ट आन्दोलनमा वि.सं. २०२८ सालदेखि नै आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार थिइन् ।
पार्टी कामका लागि पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी दाहाल देशमा जनयुद्ध शुरूआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय भइन् ।
जनयुद्धमा उनले सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट र विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेको माओवादीले जनाएको छ ।