NRN
रातकाे १० बजे भयाे सुदूरपश्चिम प्रदेशको बजेट पास

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेट दुई तिहाई बहुमतले शनिबार राति पास भएको छ ।

आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले बजेट पासका लागि गरेको प्रस्तावका पक्षमा नेपाली काँग्रेसका १८, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र नेकपा एकीकृत समाजवादीका ४ जना गरि ३९ जना प्रदेश सभा सदस्यले बजेटको पक्षमा मतदान गरे ।

विपक्षमा राप्रपाका एक जना प्रदेश सभा सदस्यले मतदान गरे । १० जना प्रदेश सभा सदस्य रहेको नेकपा एमाले र स्वतन्त्र प्रदेश सभा सदस्य तारा जोशी भने अनुपस्थित रहे ।

५३ जना प्रदेश सभा सदस्य रहेको सभामा बजेट पास गर्न २७ जना सदस्यको समर्थनको आवश्यकता पथ्र्यो । 

सत्तारुढ दलहरुको बैठक शनिबार दिनभरी जारी रहेका कारण राति १० बजे बजेट पास भएको हो । लामो रस्साकस्सी र बिरोधपछि अन्ततः सत्तारुढ दलहरुको समर्थन जुटाउन सरकार सफल भयो ।

मुख्यमन्त्री तथा नेपाली काँग्रेसका संसदीय दलका नेता कमल बहादुर शाहले काँग्रेसका प्रदेश सभाका सदस्यहरुको गुनासो र मागहरु सम्बोधन गर्ने प्रतिबद्धतापछि सम्पूर्ण प्रदेश सभा सदस्यहरु बजेट पास गर्न एक मत भएका थिए ।

बिहानैदेखि प्रदेश सभा हलको बाहिर रहेका एमालेका प्रदेश सभा सदस्यहरु साढे ६ बजेसम्म बैठक शुरु नभएका कारण हलबाट बाहिरिएपछि उनीहरु फर्केनन । एमालेका सांसदहरु र स्वतन्त्र सांसद तारा जोशीले बैठक बहिस्कार गरे ।

प्रतिपक्षमा रहेको राप्रपाका एक जना सांसद बैठकमा सहभागी भएपछि बजेट पास भएको हो । अन्यथा प्रतिपक्षको उपस्थिति बिना भने बजेट पास हुने थिएन ।

 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update