बूढीगण्डकी जलविद्युत आयोजना गोरखा जिल्लाको सिरुङ्टारमा रहेकाे फिल्ड कार्यालय उद्घाटन भएको छ । उक्त स्थानीय कार्यालय उद्घाटन आज प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले गरेका हुन् ।
गोरखा जिल्लामा बन्ने १२ सय मेगावाट क्षमताको जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटनसँगै यो आयोजनाको निर्माण सुरु हुने अपेक्षा पनि बढेको छ ।
उक्त आयोजनाबाट बिजुली निकाल्न सिरुङटारमा ८० मिटर अग्लो ड्याम बन्छ भने ६३ किलोमिटर क्षेत्रफलमा फैलिएकाे ड्याम बनेपछि पानी भरिन करिब डेढ वर्ष लाग्ने बताइएको छ । सरकारले आयोजनालाई अगाडि बढाउन भन्दै यही साता काठमाडौँमा केन्द्रीय कार्यालय स्थापना गरिसकेको छ । बुढिगण्डकी जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा जगत श्रेष्ठ नियुक्त भएका छन् ।
कम्पनी खुलेर केन्द्रीय र स्थानीय कार्यालय खुले पनि आयोजनाका लागि चाहिने लगानी रकम भने टुङ्गो लागेको छैन । आयोजना बनाउने लक्ष्यसहित हालसम्म करिब ४२ अर्ब खर्च भैसकेको छ । यस्तै, सरकारले बुढिगण्डकीका लागि भन्दै पेट्रोलियम पदार्थबाट प्रतिलिटर १० रुपैयाँका दरले ७२ अर्बभन्दा बढी सङ्कलन गरिसकेको छ ।
अहिले भने सरकारले पूर्वाधार विकास शुल्कका नाममा उक्त रकम उठाउँदै आएको छ ।