नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले पार्टीको विधानको अभ्यास गर्न कसैले रोक्न नसक्ने बताएका छन् । पाण्डेले केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका उनले विधानमा भएको प्रावधान अभ्यास गर्न सकिने भए पनि त्यसलाई अतिरञ्जित गर्न भने नपाइने बताए ।
पाण्डेले भने, “विधानमा सबै व्यवस्था छ । विधानको अभ्यास गर्नलाई कसैले रोक्न सक्दैन । त्यो न सभापतिले रोक्न सक्छ, न अरु कसैले । सकिन्छ त्यसको अभ्यास गरौँ, गरिहालौँ । नभए त्यसलाई भनेको-भन्यै गरेर अतिरञ्जित नगरौँ । हामीले अभ्यास गर्नसक्ने प्रशस्त आधारहरू छन्, त्यसलाई अगाडि बढाउँ । शेरबहादुर देउवा डुबेपछि गगन थापा पनि डुब्छ र सुरेन्द्र पाण्डे पनि डुब्छ । हामी एउटै डुङ्गामा छौँ,”।
उनले पुराना पार्टीहरूले केही नगरेपछि नयाँ पार्टीहरू उदाएका हुन् भन्ने भाष्य निर्माण गर्न खोजिएको बताए । पार्टीले त्यतातर्फ ध्यान दिनुपर्ने भनाइ उनको छ । “अहिले पुराना पार्टीहरूले केही गर्न सकेनन् र नयाँ पार्टीहरूको स्थापित भए भन्ने भाष्य बन्दैछ । यसलाई चिर्नुपर्छ ।तर, साथीहरूले बोल्ने क्रममा कहीँ पनि त्यसलाई क्रस गरेको देखिँदैन,” उनले बताए ।
उनले “०४८ सालदेखि कांग्रेसले आर्थिक तथा राजनीतिक विषयमा धेरै काम गर्यो । यसलाई हामीले क्रस गरेर बोल्नुपर्छ । सार्वनजिकरूपमा हामीले बोल्नुपर्छ । ४८ देखि हामीले के-कसरी काम गर्यौँ, त्यसको फेहरिस्त सुनाउँ,” पनि भने ।