NRN
सत्तारूढ दल कांग्रेसका सांसद सुनिल शर्माले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका छन् ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको शर्माले विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्करी भइरहेको भन्दै राजीनामा मागेका छन् । शुक्रबार बसेको कानुन, न्याय र मानवअधिकार समितिको बैठकमा बोल्दै सांसद शर्माले विमानस्थलबाट भइरहेको सुन तस्करी रोक्न नसकेकोले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

उनले प्रधानमन्त्री मातहतको राष्ट्रिय अनुसन्धान विभागले सुन पक्रेको दाबी गरे र अर्थमन्त्रालय मातहत रहेको राजस्व विभाग र गृहमन्त्रालय मातहतको सुरक्षा निकायले एक क्वीन्टल सुन अवैध रुपमा भित्रिएको थाहा नपाउने भन्ने कुरै नहुने पनि उनले बताए ।

‘प्रधानमन्त्री जिवनसाथीको निधनमा शोकमा हुनुहुन्छ । यहि बेला सय किलो सुन अवैध रुपमा आयो । राजस्व विभाग अर्थमन्त्रालय अन्तरगत पर्छ । सुरक्षा गृहमन्त्रालय मतहत छ । दुवै निकायले थाहा नपाइ सुन आउने कुरा हुँदैन,’ प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले भने, ‘प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय अनुसन्धान विभागले नियन्त्रणमा लियो । यसका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिनुपर्छ ।’

दुई मन्त्रीले बाटो खुला गरेर प्रधानमन्त्रीलाई सहयोग गर्नु पर्ने उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update